कश्मीरको पुन्छ जिल्लाको मनकोट सेक्टरमा भारत र पाकिस्तानबीच भिडन्त निम्तिएको छ । पाकिस्तानले आक्रमण थालेपछि भारतीय सेनाले पनि जवाफी कारबाही गरेको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् । यसक्रममा पाकिस्तानतर्फका ४ सैनिक मारिएको भारतीय पक्षको दाबी छ । त्यस्तै पाँच चौकी क्षतिग्रस्त बनेको भारतीय सेनाले जनाएको छ ।
यस भिडन्तका क्रममा भारतीय अर्धसैनिक बलका दुई जवान सिएच मनोहर र रियाज अहमद घाइते भएका छन् । मनकोटको आवासिय इलाकामा आधा दर्जनभन्दा धेरै पसल क्षतिग्रस्त भएका छन् । भारतीय सेनाका अनुसार नियन्त्रण रेखामा शुक्रबार र शनिबार राति भिडन्त भएको थियो । घाइते सैनिकहरुको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सञ्चारमाध्यमहरुका अनुसार कारबाही अझै रोकिएको छैन । त्यस्तै, हिरानगर सेक्टरमा पनि शुक्रबार राति गोलबारी भएको छ । शनिबार बिहानसम्म त्यहाँ भिडन्त जारी थियो । हिरानगर सेक्टरमा पाकिस्तानले एक वर्षभन्दा लामो समयदेखि संघर्ष विराम उल्लंघन गरिरहेको भारतीय पक्षको दाबी छ ।
( स्रोत :- आजतक )