सविंधानमा स्वतन्त्र , निष्पक्ष र सक्षम न्यायपालिकाको परिकल्पना गरिएको छ तर व्यवहारमा त्यसको छिटा पनि पर्न सकेको छैन । भ्रष्ट न्यायधिशका कारण न्यायपालिका अर्थात न्यायालय बदनाम हुदै गएको उदाहरण हाम्रो देशमा धेरै पाउन सकिन्छ । जहाँ न्यायालय प्रति जनताको विश्वाश डगमगाउँछ त्यहाँ लोकतन्त्र कमजोर हुदै जान्छ । सुशासनको आशा सेलाएर जान्छ । न्यायालय भनेको यस्तो संस्था हो , जहाँ बाट जनताले न्यायको अन्तिम आशा राखेका हुन्छन् । न्यायालयमा योग्य व्यक्ति पुग्न नसकेको कारण विगतमा न्यायालयको बदनाम भयो । भ्रष्ट चरित्र भएका न्यायाधिशकै कारण विगतमा न्यायालय बदनामको पात्र बन्यो । राजनैतिक भागबन्डाकै कारण राज्यका हरेक संवैधानिक निकायहरु कमजोर बन्दै गएका छन् । बेलैमा राज्यले योग्य , सक्षम र नैतिकवान् नागरिक चिनेर उच्च ओहोदामा आसिन गराउन सकेन भने सबैठाँउ भ्रष्ट , चरित्रहिन र अनैतिक व्यक्तिले भरिन्छ ।
समाजमा आइपर्ने सामाजिक तथा मानविय विवाद र झमेलाहरुको न्युनिकरण गर्नका निम्ति नै कानुन निर्माण गरिन्छ र आवश्यकतानुसार समयानुकुल बनाउन बेलाबेला यसको परिमार्जन तथा नवनिर्माण गरिन्छ र गरिदैँ छ । कानुनमा न धनि , न गरिब , न जात , न धर्म सबैलाई समान रुपले व्यवहार गर्दछ । तर विडम्बना हाम्रो देशमा धनवान् , बलवान् , पहँचवाला , राजनैतिक नेता , उद्दोगव्यवसायी जस्ता ठुलावडालाई यसले छिसिक्क हुदैन । छोइहालेपनि सुटुक्क कुरो मिलाइन्छ वा गुपचुप मै राखिन्छ । तर निमुखा जनताको भेटेमात्र छाला काँढेर छोडिन्छ । न्यायाधिशहरुले कसैलाई काखा र पाखा पार्नु न्याय विपरित कार्य हो । न्यायलाई विषाक्त बनाउने वकिल , न्यायाधिश जो सुकैलाई न्यायको कठघरामा नउभ्याएसम्म निमुखा जनताले न्यायको सास फेर्न सक्दैनन् । अन्यायमा परेको जनताले न्यायालय अगाडी गएर न्यायको भिख माग्ने होइन , न्यायको स्वतन्त्र निरुपणले शितल छहारी दिलाउन सक्नुपर्छ । ईमान्दारिताको कमाइले मज्जाले जीवन गुजार्न सकिन्छ भन्ने वातावरण जबसम्म बनाउन सकिदैन तबसम्म जुनसुकै व्यवस्था पनि कागजमा भन्दा बाहिर टिक्न सक्दैन । राज्यको सुविधामा ढलिमलि गर्न कसैलाई छुट छैन न नेता , न प्रशासकलाई । व्यवहारमा अनुशरण नगरिएका खोक्रो चिन्तन र भाषणले मानविय जीवनको पाटोमा घामको किरण छर्ने छैन । बिरालोलाई ढोका बन्द गरेर समात्न खोजियो भने त्यसले चिथोर्छ । न्यायलाई मजवुत बनाउन नसक्नु नागरिकको प्राण हर्नु सरह हो ।
न्यायको ढोका सदैव खुल्ला हुनुपर्छ न कि ढकढक्याएर भित्र छिर्ने प्रणालिको । न्याय सम्पादनले टन्केको घाउ निचोरेको अनुभुति जनताले गर्न पाउनुपर्छ , उकुच पल्टिएर अंग नै काटेर फ्याक्ने परिस्थिती को होइन । कसैलाई थाहा छ कति नागरिकजन न्याय नपाएर घिटीघिटी भैरहेका होलान् ? के नेपाल न्याय हराएको देश नै हो त ?
द्धन्द्धकालिन समयमा वेपत्ता पारिएका कैयौँ नागरिकका परिवारले न्यायको अनुभुति गर्न पाएका छन् त ? कति बालिका यौन दुव्र्यवहार को सिकार परेका छन् र बलात्कारीले यौनको प्यास मेटाएर मारि फ्याल्दिएका छन् उनिहरुलाई केहि सजाय भएको छ त ? भित्रभित्रै किन अपराधिहरु लकाएर राखिन्छ ? किनकि उनीहरु राजनितिज्ञ को आडमा छन् । जातिय विभेद का कारण कयौँ युवायुवतीले आफ्नो जीवन बलिदान स्वरुप चढाएका छन् । सिमानामा बस्ने आफ्नै देशका नागरिकले त्राहीत्राही जीवनयापन गरिरहेका छन् । कति नारी माइतिबाट दाइजो नल्याएको निँहुमा जिउँदै जलाइएका छन् । कति नारी आफ्नै अफिसमा हाकिमबाट पिडित भैरहेकी हुन्छिन् । कति बालिका घरबाट पढ्नका लागि बाहिर निस्कदा बलात्कारछि हत्या गरि झाडीमा पुग्छिन् । खै त हाम्रो देशमा न्याय ? के साच्चै न्याय हराएको हो र ? हामी सर्वसाधारण जनताले स्वतन्त्र भएर निडरका साथ जीवन जिउन कहिले पाउँछौ होला ? हामी सर्वसाधारण जनताले स्वतन्त्र भएर निडरका साथ जीवन जिउन कहिले सक्छौ होला ? हाम्रो समाजमा आफ्नै जन्म दिएका सन्तानबाट बाआमालाई न्याय छैन । हुर्काइ बढाई , पढाई जागिरको शिलशिलामा घर छोडेका आफ्ना सन्तानले बाआमाको माया बिर्सन्छन् । उनिहरुले आफ्ना सन्तानको लागि गरेको त्याग , तपस्या र बलिदान एकैछिनमा बिर्सिएर बाहिरि संसारमा रमाउन पुग्छन् । आफ्नो धरातल बिर्सिएर एउटा गतिलो जागिर हुदैमा मेरो सब थोक यहि हो भन्दै बाहिरी संसारमा रुमलिन थाल्छ । खै त दश प्रतिशत सन्तानको कमाइ बाआमाको नाममा राख्नुपर्ने प्रावधान कार्यान्वन मा आएको ? कुन प्रदेश , जिल्ला र स्थानिय तहले कानुनमा उल्लेख भएको सम्पुर्ण निती नियम कार्यान्वयनमा ल्याएका । अनि विचरा १ आफ्ना सन्तान भएरैपनि बाआमाको अन्तिम सास छिमेकीको सन्तानको काखमा सकिन्छ र आफ्ना सन्तान अन्यत्रै मोजमस्तिमा हुन्छन र देखावटी आसु झार्छन् । अझ कति छोरो मान्छेहरु यति सम्म निकम्मा बनिदिन्छन् कि आफ्ना गाँउका पैताला चर्किएका वृद्ध बाआमा भुलेर श्रीमति का बाआमा नै मेरा हुन् भन्दै उनीहरुको सेवामा तल्लिन हुन्छन् । यो पनि बेठिक त होइन तर सुरुमा त आफ्ना बाआमालाई असल छोरो हुनुको भुमिका पुरा गर्नुपर्यो नि । गाउँ भुलेर सहरमा आसिन हुदैमा तपाईलाई कसैले राम्रो ठान्दैन जबकी तपाईको व्यवहार नै निकम्मा छ । त्यसैले वृद्ध मातापितालाई न्याय दिउँ ।
घर आँगनमा सानासाना नानीहरु खेलिरहँदा निर्मला , सम्झना अनि श्रेया जस्ता नरपिशाचहरुले बाच्न नदिएका बहिनीहरु सम्झिएर स्तब्ध हुँदै आँखाबाट आँसु झर्छन् र सोचमग्न बन्न पुग्छु कहिले होला नेपाली समाजमा हिसांरहित । अलि अगाडीको समयसम्म त छोरीलाई देविको रुपमा पुजा गरिन्थ्यो , टिका लगाएर खुट ढोगिन्थ्यो , लक्ष्मीको अवतारको रुपमा हेरिन्थ्यो तर आज यि निश्चल लक्ष्मीमाथी हर समय पापी नजरले छेडीरहेको भान हुन्छ । ७ वर्षे , ८ वर्षे , ९ वर्षे , ११ वर्षे र १३ वर्षे बालिकाहरुको बलात्कार पछि हत्याका खबर सार्वजनिक हुन्छन् । भगवान् को लिला कसैलाई छोरा , कसैलाई छोरी बनाए त अनि ति अबोध बालिकाको के दोष त्यति कलिलो उमेरमै बलात्कारीहरुको सिकार बन्नुपर्ने । दुर्गा , सरस्वतीका अवताररुपी बालिका , किशोरीको संरक्षण गर्ने पालो अब कसको त ? अहिलेको परिवर्तित समाजले बलात्कार , हत्या , हिंसा बाहेक अरु केहि उपलब्धि गर्न सकेको छैन । सयौँ छोरी अकालमा मृत्युवरण गर्नुमा कुनै एक पुरुषमात्र नभएर यस्ता कार्यको दोषी अब पुरै समाज हो किनकी कानुनको आधारमा व्यक्तिलाई सजक गराउन सकेन ।
२०७५ साल साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला हत्याकाण्डले नेपालमा दण्डहिनता मौलाउदै गएर अपराधिहरुले राजनैतिक संरक्षण पाउदै गएको स्पष्ट छ । राजनैतिक आडकै कारण निर्मलाले न्याय पाउन सकिनन् । निर्मलाजस्ता असंख्य छोरीहरुले यौन हिसांको सिकार भै मारिदा ति आमाहरुको कलेजो कति छियाछिया भयो होला ? एउटी अबोध बालिकालाई न्याय दिन नसक्ने सरकारबाट जनताले के अपेक्षा गर्ने भन्ने प्रश्न सबै जनमानसमा सल्बलाईरहेको छ । हरेक वर्ष लैंगिक हिंसा विरुद्ध अभियान चलाइरहनु भन्दा समाजबाट हिंसा नै अन्त्य हुने हो भने अभियान नै चाहिदैन । तर विडम्बना लैगिंक हिंसा घट्नु होइन दिनदिनै आकाशिँदो छ । सामाजिक , आर्थिक , राजनैतिक र शैक्षिक जस्ता क्षेत्रमा महिला , किशोरी , बालिका शारिरीक र मानसिक हिंसाको सिकार बन्न बाध्य छन् ।
युगौदेखि हाम्रो समाज पुरुषसत्तात्मक मानसिकतामा महिलालाई एउटा खेलौना वा वस्तुका रुपमा हेर्ने गर्छ । पुजिँवादी संस्कृतीभित्रको पुरुषसत्ताले सौन्दर्य प्रतियोगिता को बजार थापेर नारी प्रकृतिप्रदत्त सौन्दर्यलाई कामुकताको यन्त्रले परिक्षण गर्ने गर्दछ ।
समाजमा दुधे बालिका देखि वृद्ध आमासमेत यौनहिंसा को सिकार भएर बाँचिरहेका छन् र अपराधि खुलेआम हिडिरहेका छन् । प्रशासन र न्यायालयको नजरमा अपराधी ठाडो शिर लगाइरहन्छ । यस्ता अपराधी खोजी गरी हदैसम्मको सजाय दिनमा राज्य लागि नपरे सम्म सरकारले जतिनै आर्दशका भाषण दिएपनि जनतामा विश्वास टक्र्याउन सक्दैन । कार्यालय , विद्यालय र विश्वविद्यालय जताततै पुरुष श्रेष्ठताको आधारमा महिलाहरुले मानसिक यातना खेपिइरहेका छन् । यस्ता घटनालाई महिलाको चरित्रसँग जोडेर बदनाम गराउने परम्पराका कारण पिडीतहरु खुलेआम बोल्न सक्दैनन् । कसैको फुर्सद भयो कि अरुको देखावटी भन्दा बनावटी कुरा गरेर समय बिताउने हामी नेपालीको परम्परागत बानि छ । यसरी कसैको आड पाएको भरमा अरुलाई मानसिक तनाव र यातना दिदैमा के सन्तुष्टि मिल्छ र ? भनिन्छ नि हिँउदमा बारीमा बनाइएका हिउँदे गोठका खाबाँहरु बर्खामासको झरीले कुहिएर ढल्छन् । हो यस्तै गरी आज तपाईलाई साथ दिनेले भोली अरुलाई दिनसक्छ सधैँ एउटैको पक्षमा हुन्छ भन्ने हुदैन । यसरी निरर्थक कुरा गरेर समय बिताउन भन्दा सकारात्मक सोचको विकास गरौँ र जीवन सार्थकतातिर डोहोर्याऊ । कसैलाई अन्याय हुने काम गर्नमा कसैलाई छुट छैन ।
हामी महिलाहरुले सहनशीलता , सुशिलाका आदर्शहरु भत्काउदै विद्रोह गर्न सक्ने तागत राखेमा भविष्यका महिलाहरु प्रति गलत मनसाय राख्नेहरु प्रतिष्ठित बन्ने संस्कार अन्त्य हुन्छ । अब प्रत्येक आमाहरुले आफ्ना सन्ततीहरुलाई दिदीबहिनीको महत्व बुझाउन जरुरी छ । यदि अन्जानमा घटना भएमा सबै मिली पिडीतलाई न्याय दिलाउने तर्फ सोच्ने बेला आएको छ । अब हामी सधैँ कानुनमा मात्र विश्वास गर्न थाल्यौ भने भोली घरमा लक्ष्मीको अभाव हुनेछ । अब नजिकीदै गरेको दशैँमा अग्रजहरुले आफ्ना सन्ततिलाई हिंसा विरुद्ध आवाज उठाउ , सुखसमृद्धि छाओस् भनेर होइन बलात्कारी नहुनु र हिंसा र बलात्कार गर्ने विरुद्ध आवाज उठाउ भन्दै आशिर्वाद दिऊँ । “न्याय हराएको हाम्रो देशमा सरकार भेटियो न्याय भेटिएन“ुभन्ने दिन हराएर जाओस् । न्यायको निम्ती कोही कसैले अञ्जुली फिँजाउने दिन हराएर जाओस्
# कविता खत्री
स्रोतहरू खुलाइएका बाहेक सुचना न्यूज डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू न्यूज डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।