काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणपछि मात्रै मैदान फर्काइने बताएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण उपत्यकाभित्र र बाहिर रहेका सबै खेलाडीको स्वास्थ्य परीक्षणपछि मात्रै प्रशिक्षणका लागि मैदान फर्काइने तयारी भएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।
उनले खेलाडीलाई दुई साता क्वारेन्टिनमा राख्नेसमेत जानकारी दिए । क्वारेन्टिनमा रहेकै समयमा खेलाडीको स्वास्थ्य परीक्षण गरिनेछ । “हामी खेलाडीको क्वारेन्टिनका लागि छलफल गरिरहेका छौं । स्वास्थ्यकर्मीसँगको छलफलपछि उनीहरूको रिपोर्टअनुसार हामी खेलाडीलाई सेल्फ वा होटेलमा राख्ने भन्ने निर्णय गर्नेछौं,” एन्फा प्रवक्ता राईले बाह्रखरीसँग भने, “स्वास्थ्य परीक्षण भने अनिवार्य हुनेछ । क्वारेन्टिनमै बसेका बेला खेलाडीको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिरहेका छौं ।”